
काठमाडौं । संखुवासभाको मकालु गाउँपालिकाका बाबुछोराले एकै पटक मकालु हिमालको आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेकाछन् ।
बाबु आङतेञ्जी र छोरा लाक्पा शेर्पाले मकालु हिमालको सफल आरोहण गरेका हुन् । गतबर्ष सोह्र दिनमा तीन पटक मकालु हिमाल आरोहण गरेर गिनिजबुकमा नाम लेखाएका संखुवासभाका लाक्पा शेर्पा पुनः आफ्ना बुबासहित मकालु हिमालको चुचुरोमा पुगेर फर्किएका छन् । उनले यसपटक आफ्ना ५४ बर्षीय बुबा आङतेञ्जी शेर्पालाई समेत मकालु हिमालको चुचुरोमा पुयाएका छन् । हालसम्म ७ पटक मकालु हिमालको आरोहण गरिसकेका लाक्पा बुबासँग सन् २०२३ मे १३ मा मकालु हिमालको चुचुरोमा पुगेका हुन् । उनले सन् २०२२ को मे १२, २० र २८ मा मकालु हिमालको सफल आरोहण गरी छोटो अवधिमा मकालु हिमालको तीनपटक आरोहण गर्ने व्यक्तिका रुपमा गिनिज वल्र्ड रेकर्ड बनाएका हुन् ।
हिमाल आरोही लाक्पा शेर्पाले सन् २०२२ मे २८ मा बिश्वकिर्तिमान कायम गरेको घोषणा भएको थियो । उनले बि.सं. २०७९ फागुन महिनामा गिनिज वल्र्ड रेकर्डको आधिकारिक प्रमाण–पत्र प्राप्त गरे । ८ हजार ४ सय ८५ मिटर अग्लो मकालु हिमालका अतिरिक्त लाक्पा शेर्पाले सगरमाथा एकपटक, मनास्लु दुईपटक, ल्होत्से एकपटक, बश्वकै टेक्निकल हिमालको रुपमा रहेको माउन्ट आमादब्लमको ६ पटक गरी २० बर्षको उमेरदेखि विभिन्न चरणमा हिमाल आरोहण गर्दै आएको बताए । सेभेन समिट ट्रेकिङका फिल्ड मेनेजर समेत भईसकेका उनले बुबासँगको मकालु हिमाल आरोहण मे १३ को बिहान साढे ८ बजे ९ जनाको समूहमा सम्पन्न गरेको बताए । लाक्पा स्वयम् लिडर रहेको सो समूहमा नेपाली र बिदेशी नागरिकहरु सहभागी भएको उनले बताए ।
.यो आरोहणसंगै छिमेकी राष्ट्र चीनमा रहेको मुस्ताखाता हिमाल आरोहणमा प्रशिक्षकका रुपमा लाक्पा शेर्पा त्यसतर्फ जाने भएका छन् । नेपालबाट २३ घण्टा हवाई यातायात गरेपछि पुग्न सकिने मुस्ताखाता हिमाल ७ हजार ८ सय मिटर उचाईमा रहेको छ । लाक्पाले भने, ‘मुस्ताखातामा मैले एउटा गाइड्टिचरको रुपमा धेरैबर्ष अघिबाट काम गर्दै आएको हुँ र केहीदिनभित्रै पुनः त्यहाँ जाने तयारी गरेको हुँ ।’ मुस्ताखातामा अहिले क्लाइमिङ लिडरको रुपमा जान लागेको बताउँदै हिमाल आरोही लाक्पा शेर्पाले त्यहाँ अहिले एकसय जनाभन्दा बढी ग्राहकहरु रहेको र नेपालबाट समेत २ हजार ५ सय ३० जना शेर्पाहरु लिएर जाने तयारी भईरहेको बताए ।
लाक्पालाई बिदेशबाट हिमाल आरोहणका लागि धेरै ठाउँमा प्रशिक्षकको रुपमा बोलावट हुने गरेको छ । युरोप रसियामा युगोस हिमाल आरोहणमा प्रशिक्षकको रुपमा पनि बोलाइएको तर जान नभ्याएको र केही समयपछि अमेरिका चाँही जाने तयारी रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्