
काठमाडौं। सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई अघि बढाउनका लागि आगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रममा उच्च प्राथमिकता दिन सरकारसँग माग गर्नु भएको छ ।
अध्यक्ष नेपालले सो विमानस्थलको कामलाई अगाडि बढाउनका लागि सरकारले संसदमा पेश गरेको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा उल्लेख नगरिएको भन्दै अर्थमन्त्री डा. प्रकाशशरण महतप्रति असन्तुष्टि समेत व्यक्त गर्नु भयो । मंगलबार संघीय संसद अन्तरगतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सिंहदरबारमा बसेको बैठकमा बोल्दै उहाँले सो विमानस्थलको महत्व अर्थमन्त्री महतले नबुझेको कि भनेर प्रश्न समेत गर्नु भयो । अध्यक्ष नेपालले मुलुकको गेम चेन्जर प्रोग्रामको रुपमा रहेको सो विमानस्थललाई अघि बढाउन संसदीय समितिहरुलाई पनि विशेष ध्यान दिन आग्रह गर्नु भयो ।
अध्यक्ष नेपालले आफूले जति कोशिस गर्दा पनि सो विमानस्थलको काम अघि बढन नसकेको गुनासो पनि पटकपटक गर्नु भयो । उहाँले ठूला शक्ति राष्ट्रहरुसँगको कूटनीतिक सम्बन्धलाई विशेष ख्याल गरेर अन्तराष्ट्रिय सम्बन्ध समितिले आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्