१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


दक्षिण कोरिया जाने नेपाली कामदारलाई अवैध रुपमा सिमकार्ड वितरणका नाममा ठगी


351
Shares

काठमाडौं । दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरणका नाममा ठगी भइरहेको पाइएको छ ।

ललिपुरमा रहेको इपीएस कोरिया शाखाको कार्यालय परिसरमा दक्षिण कोरिया जाने नेपाली कामदारहरुलाई अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएको हो।

सिमकार्ड निःशुल्क रुपमा वितरण भइरहेको भएपनि कोरिया घुम्न गएका विदेशीहरूले केही दिन प्रयोग गरेर छाडेको सिमकार्ड रहेको पाइएको छ । सिमकार्ड वितरण निशुल्क गर्ने भनिएपनि रिचार्ज गर्ने नाममा प्रतिव्यक्ति ३ हजार रुपैयाँसम्म उठाउने गरेको पाइएको ईपीएस कोरिया शाखाका निर्देशक पुष्पराज कटुवालले बताउनु भयो ।

कटुवालले अवैध रुपमा प्रिपेड सिमकार्ड वितरण भइरहेको पाइएपछि कार्य रोक्न नेपाल प्रहरी, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग लगायत सम्बन्धित निकायलाई जानकारी दिएको बताउनु भयो ।

अवैध रुपमा कोरियाको प्रिपेड सिमकार्ड बिक्री वितरण भइरहेको गुनासो आएसँगै गत पुस ४ गते प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई अनुगमन गरी कारवाही गर्न अनुरोध गर्दै पत्र काटेको जानकारी कटुवालको भनाई छ । कटुवालले सिमकार्ड वितरण कार्य नरोकिए पछि पुनः वैशाख ३१ गते दोस्रो पटक प्रहरीलाई जानकारी दिएको बताउनु भयो ।

ईपीएस कोरिया शाखाका निर्देशक कटुवालले कार्यलय परिसर वरपर बीमा, फोटोकपी, प्रिन्टिङ्ग लगायतका कार्यहरु बजार मूल्य भन्दा चर्को शुल्क लिई ठगी गर्ने गरेको पनि बताउनु भयो । त्यस्तै, ठगी कार्य तत्काल रोक्न सम्बन्धित निकायलाई अनुरोध गरिएको कटुवालको भनाई छ।

कटुवालले ईपीएस कोरिया शाखाले अवैध सिमकार्ड वितरण र सेवाग्राहीहरुको फारम भर्ने लगायत सेवा सम्बन्धी अन्य कार्यहरु गर्दा उपोभोक्तलाई ठगी गर्ने गरेको बारे सम्बन्धी निकायलाई ताकेता गरेको करिव ५ महिना पुग्न लाग्दा समेत सम्बन्धी निकाय भने मौन देखिएको गुनासो व्यक्त गर्नुभयो । ।

कटुवालले हालसम्म प्रहरी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमन समेत गर्न नआएको गुनासो व्यक्त गर्नुभयो ।