२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


आगामी बजेटमा सुदूरपश्चिमको पर्यटक र कृषि क्षेत्रमा प्राथमिकता दिन सांसदको सुझाव


39
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले प्रदेश सरकारले आगामी बजेटमा सुदूरपश्चिमको पर्यटक र कृषिको क्षेत्रमा प्राथमिकता दिन सुझाव दिएका छन् ।

सुदूपश्चिम प्रदेश सरकारले प्रतिनिधिसभाका सांसदहरुसँग आगामी आर्थिक वर्षको बजेटका विषयमा सुझाव लिन आयोजना गरेको कार्यक्रममा उनीहरुले संघीय सरकारले ठूला जलविद्युत र सडक निर्माणमा प्राथमिकता दिने भन्दै प्रदेश सरकारको प्रमुख प्राथमिकता पर्यटन पूर्वाधार र कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।

प्रदेश सरकारले समग्र प्रदेशको प्रमुख आवश्यकता र स्रोत सुनिश्चित गरी आयोजनाको आधारमा बजेट ल्याउन उनीहरुको सुझाव छ । विगतमा स्रोत सुनिश्चित नभई बजेट ल्याउँदा बजेट कार्यान्वयन र लक्ष्य अनुसार राजस्व संकलन नहुँदा समस्या हुने गरेको सांसदहरुले स्मरण गराए ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रदेश सरकारले करका दर निर्धाण गर्दा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले करको दर हेरफेर बजेटको अन्तिम समय र गोपनिय रुपमा गर्न सुझाव दिनुभयो । उहाँले करको विषयमा धेरै विवाद आउने भन्दै करको दर निर्धारण गर्दा विशेष शतर्कता अपनाउन आग्रह गर्नुभयो । उहाँले कर निर्धारणको विषय संघीय सरकारमा निरन्तर विवादमा आएकाले प्रदेशमा पनि सर्न सक्ने बताउनुभयो ।

नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले प्रदेश सरकारले बजेट बनाउँदा राजश्व निर्धारणको क्षेत्र पहिचान गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले राजश्व परिचालनको क्षेत्र निर्धारण गर्नसक्यो भने प्रदेश सरकार केन्द्रसँग निर्भर पर्नुपर्ने अवस्था नआउने बताउनुभयो ।

उहाँले प्रदेश सरकारले पुँजी निर्माण गर्नेमात्रै नभएर पुँजी भित्र्याउने विषयमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।