
काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट गलत तथ्याङ्कमा आधारित भएर नल्याउन आग्रह गर्नुभएको छ ।
बिहीबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा डा. खतिवडाले सरकार चालु आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिदर राख्दा अर्थतन्त्रमा देखिएको अवस्थाको मूल्याङ्कन गरेर बजेट ल्याउनुपर्ने बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको अन्त्यसम्म २.२ प्रतिशतको आर्थिक वृद्धिदर हुन नसक्ने अवस्था देखिएको तर्क गर्नुभयो । अबको तीन महिनामा १ प्रतिशत आर्थिक वृद्धि हुने अवस्था नभएको भन्दै उहाँले चालु वर्षको दुई त्रैमासिकमा आर्थिक वृद्धिदर कम हुँदा आर्थिक मन्दी हुने तर २ प्रतिशत नकारात्मक गएको आर्थिक सिथिलता देखिएको बताउनुभयो ।
आर्थिक मन्दी भएपनि अर्थतन्त्रका सूचक नेगेटिभ नभएको भन्दै उहाँले अर्थतन्त्रमा मन्दी हो वा सानो धक्का मात्रै देखिएको भन्ने विषयमा बहस छलफल हुन जरुरी रहेको बताउनुभयो ।
पूर्वअर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्र नै अस्थव्यस्त रहेको भन्दै १० देखि १२ प्रतिशतको वित्तीय हिस्सा ओगटेको क्षेत्र नै अस्तव्यस्त रहनु सकारात्मक नभएको तर्क गर्नुभयो ।बीमा प्रणालीमा पनि लाइसेन्स बाँड्ने र मर्ज गराउने बेथिति रहेको भन्दै उहाँले लघुवित्तहरुमा ऋण नतिरौं भन्ने अभियान चलाउने नेतृत्वलाई सरकारले कारबाही गर्नुपर्ने बताउनुभयो ।
अर्थतन्त्र चलायमान बनाउने बहस चलिरहँदा सरकारसँग वित्त नीति र मौद्रिक नीतिमा चलाउने ठाउँ नभएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्