
काठमाडौं । संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गरिने भएको छ ।
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममा संघीय शिक्षा ऐन संसदको चालु अधिवेशनबाटै पारित गर्ने स्पष्ट पारिएको हो ।
सरकारले विद्यालय तहको पाठ्यक्रममा समसामयिक पुनरावलोकन गर्ने, हरेक वर्ष शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक उपलब्ध हुने सुनिश्चिता गर्ने पनि बताएको छ ।
त्यस्तै, शिक्षा क्षेत्रका सबै किसिमका छात्रवृत्तिहरुलाई एकद्वार प्रणालीमार्फत वितरण गरिने पनि उल्लेख गरिएको छ । उच्च शिक्षामा देखिएका समस्या समाधान गरी ठोस सुझाव दिन उच्च स्तरीय शिक्षा आयोग गठन गरिने पनि राष्ट्रपति पौडेलले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यसैगरी विपन्न लक्षित छात्रवृत्तिलाई बिस्तार गरिने, दिवा खाजा कार्यक्रमलाई बिस्तार गर्दै लगिने, शिक्षण पेशालाई मर्यादित र आकर्षक बनाउन विशेष प्याकेजको व्यवस्था गरिने कुरा पनि समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्