६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


सिर्सिया नदी प्रदूषित गर्ने उद्योगलाई बीरगञ्ज महानरले दियो चेतावनी


143
Shares

बारा । बाराको औद्योगिक करिडोरका उद्योगबाट निष्किने फोहोरका कारण सिर्सिया नदी प्रदूषित हुँदै गएको छ ।

नदी प्रदूषित बन्दै गएपछि बीरगञ्ज महानगरले उद्योगलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर उद्योग सहित पाँच वटा उद्योगलाई पत्र नै पठाएर चेतावनी दिएको छ । सिर्सिया नदीलाई फोहोररहित बनाउने महानगरपालिकाको उद्देश्य भएकाले जथाभावी फोहर नफाल्न पटक पटक आग्रह गरेपनि उद्योगीले बेवास्ता गर्दै आएको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।

महानगर उपप्रमुख इम्तियाज आलम नेतृत्वको अनुगमन टोलीले केही महिनाअघि अनुगमन गर्दा उद्योगले उद्योगबाट निस्कने फोहर पानी सोझै नदीमा मिसाउने गरेको पाइएको कुरा सार्वजनिक गरेको थियो । फोहर व्यवस्थापन गर्न उद्योगीहरुलाई सुझाव दिएपनि कार्यान्वयन नभएपछि कारबाही गर्ने तयारी गरिएको नगरप्रमुख सिंहले बताउनुभयो । सिर्सिया नदी सफा बनाउने अभियानमा उद्योगीले आफ्ना उद्योगमा ट्रिटमेण्ट प्लाण्ट राखेर सहयोग गर्नुपर्नेमा उद्योगी जिम्मेवारीबाट पन्छिएको महानगरको आरोप छ । बाराको सिमराभन्दा पश्चिम पर्ने रामवनस्थित वनबाट बग्न सुरु गरेको र्सिसिया नदी पर्साको वीरगञ्ज सहर हुदै भारतको रक्सौल सम्म पुगेको छ ।

पर्सा–बारा औद्योगिक करिडोरका उद्योगबाट उत्सर्जित हुने रसायनयुक्त प्रदूषित पानी र फोहर पदार्थ सिधै नदीमै उत्सर्जन हुँदै आएका कारण सिर्सिया नदी विगत तीन दशकयतादेखि प्रदूषित बनेको हो ।

छाला, डिस्टीलरी, टेक्सटाइल, घ्यू, साबुनलगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानी खोलामा बगाइन्छ । जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदोलगायतका विकार प्रशोधन नगरी नदीमा सिधै बगाउने र फालिने गरिएको छ । जसले गर्दा सिर्सिया नदि प्रदूषित र दुर्गन्धित बनेको हो ।