
कैलाली । नागरिक उन्मुक्ति पार्टीलाई बाहिरै राखेर सुदूरपश्चिममा प्रदेश सरकार विस्तार भएकोे छ ।
मुख्यमन्त्री कमल बहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले शनिवार नयाँ मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री शाहले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरूलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो ।
नेपाली कांग्रेसबाट बझाङका पृथ्वीबहादुर सिंहलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा माओवादी केन्द्रबाट झपट साउदलाई सामाजिक विकास मन्त्रालय र रमेश धामीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । माओवादीकै गीतादेवी माललाई उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारीसहित शपथ ग्रहण गराइएको हो ।
२०७९ को माघ २६ गते मुख्यमन्त्री नियुक्त हुनुभएका शाहले मुख्यमन्त्री भएको भोलिपल्टै कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री नियुक्त गर्नुभएको थियो । देउवाले भौतिक पूर्वाधार र शाहीले आर्थिक मामिला मन्त्रालयको जिम्मा पाएका छन् । त्यसपछि मन्त्रिपरिषद विस्तार हुन सकेको थिएन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने दल नागरिक उन्मुक्ति पार्टीले भने मन्त्रीका लागि नाम दिएन । आफूहरुलाई २ वटा मन्त्रालय दिने सहमति भए पनि अहिले मुख्यमन्त्रीले एउटा मात्र नाम मागेकाले सरकारमा सहभागी नभएको सो पार्टीले जनाएको छ । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय खाली राख्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्