
काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध नै भनिने बताउनुभएको छ ।
सोमबार प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को निति तथा कार्यक्रममाथि छलफल गर्ने क्रममा सांसद पौडेलले मानिसले लडेको युद्धलाई जनयुद्ध अथवा जनआन्दोलन नै भनिने बताउनुभएको हो । त्यसअघि नेकपा(एमाले)का सांसद योगेश भट्टराईले बोल्ने क्रममा निति तथा कार्यक्रममा जनयुद्ध भन्ने शब्द परेको भन्दै आपत्ति जनाउनुभएको थियो । भट्टराईलाई जवाफ दिँदै सांसद पौडेलले सो युद्ध माछा, भालु, अर्ना, रुख र ढुंगाहरुले नलडेको भन्दै मानिसले लडेका कारणले जनयुद्ध भएको स्पष्ट पार्नुभयो ।
उहाँले मानिसले लडेको युद्धलाई के भन्ने भनेर शब्दकोष पल्टाएर हेर्न पनि आग्रह गर्नुभयो । उहाँले जनयुद्ध जनतालाई सार्वभौम बनाउनको निम्ति र संविधानसभाबाट संविधान बनाउनको निम्ति लडेको उल्लेख गर्दै आफु हजार पटक आँखा जुधाएर वहश गर्न तयार रहेको बताउनु भयो । उहाँले इतिहासलाई सम्मान गर्न पनि आग्रह गर्नुभयो । उहाँले भट्टराईलाई धनगढीमा राजतन्त्र फर्काउन भनि नागरिक अभिनन्दन भइरहेको भन्दै त्यहाँ गएर बहस गर्न पनि आग्रह गर्नुभयो ।
उहाँले नीति तथा कार्यक्रम गठबन्धन सरकारले देशको यथार्थ चित्रणको रुपमा आएकोले पारित गर्नुको विकल्प नभएको बताउनु भयो । उहाँले निति तथा कार्यक्रम देशको अर्थ प्रणालीलाई जोगाउने गरी आएको बताउनु भयो । निति तथा कार्यक्रम पारित हुने उहाँले बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्