
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो ।
प्रधानमन्त्री दाहालले मंगलबार जनता समाजवादी पार्टी (जसपा)का वीरेन्द्र कुमार महतो वन तथा वातावरण र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त गर्नुभएको छ । जसपाबाट यसअघि नै अशोक कुमार राई शिक्षा मन्त्री हुनुहुन्छ ।
मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि दाहाल नेतृत्वको मन्त्रिपरिषद् २५ सदस्यीय भएको छ । योसँगै प्रधानमन्त्री नियुक्त भएको ५ महिनापछि दाहालले मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ ।
सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक/एक मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्