१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जेठ १५ भित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई काठमाडौं महानगरको ताकेता


247
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले जेठ १५ गतेभित्र छात्रवृत्ति वितरण गर्न निजी विद्यालयहरूलाई निर्देशन दिएको छ ।

महानगरपालिकाले छात्रवृत्ति वितरण गरेको जानकारी जेठ १६ गते इमेलमार्फत काठमाडौं महानगरपालिकाको शिक्षा विभागमा पठाउन भनेको छ । २०८० का लागि सम्बन्धित निजी विद्यालगबाट कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिने छात्रवृत्तिको विववरण पेस गर्नुपर्ने छ ।

निजी विद्यालयले अघिल्लो शैक्षिक सत्रमा जम्मा विद्यार्थीको १० प्रतिशत विद्यार्थीलाई नयाँ शैक्षिक सत्रमा छात्रवृत्ति प्रदान गर्नुपर्ने कानुनी व्यवस्था छ । सोही आधारमा काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५० को उपदफा (३) बमोजिमको छात्रवृत्ति छनोट समितिबाट निर्णय गराई छात्रवृत्ति वितरण गर्न निर्देशन दिएको हो ।

त्यसरी प्रदान गरेको छात्रवृत्तिको विवरण विद्यालयले आफ्नो वेबसाइटमा प्रकाशन गर्न र कुनैपनि अभिभावक, विद्यार्थी तथा सरोकारवालाको गुनासो भएमा सोको सुनुवाइको अवसर समेत प्रदान गर्न महानगरले निर्देशन दिएको छ । तोकिएको बमोजिमको समयमा छात्रवृत्ति वितरण नगर्ने विद्यालयको विवरण सार्वजनिक गर्ने समेत महानगरले चेतावनी दिएको छ ।