
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले खेलकुदलाई राजनीतिबाट मुक्त गरेर अगाडि बढाउन कुनैपनि समस्या नरहेको बताउनुभएको छ ।
नेपाल ओलम्पिक कमिटीले बुधवार आयोजना गरेको एक कार्यक्रममा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक विभाजनबाट मुक्त गरेर अगाडि बढाउन कुनै समस्या नभएको बताउनुभएको हो ।
उहाँले खेलकुद क्षेत्रमा लागेकाबाट त्याग र तपस्याको आवश्यकता रहेको बताउनुभयो । उहाँले चीनको हाङझाउमा हुने एशियाली खेलकुदमा नेपालबाट २९ खेलमा सहभागी हुने गृहकार्य भइरहेको बताउनुभयो ।
नेपाल ओलम्पिक कमिटीले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीलाई स्वागत गर्दै सम्मान गरेको छ । कमिटीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रममा अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुक्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।
यस्तै, मन्त्री भण्डारीले ओलम्पिक कमिटी स्वायत्त र फरक संस्था रहेको बताउनु भयो । मन्त्री भण्डारी ओलम्पिक कमिटीका सल्लाहकार पनि हुनुहुन्छ । कमिटीका अध्यक्ष श्रेष्ठले अझै पनि खेलकुद ऐन अनुसार यसलाई अगाडि बढाउने चुनौति रहेको बताउनुभयो ।
कार्यक्रममा कमिटीका पूर्वअध्यक्ष तथा मानार्थ अध्यक्ष ध्रुवबहादुर प्रधान तथा महासचिव निलेन्द्रराज श्रेष्ठले पनि आफ्नो धारणा राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्