
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो जात्रा अवलोकन गर्नुभएको छ ।
राष्ट्रपति पौडेलले जावलाखेलमा बिहीबार अपरान्ह आयोजित भोटोजात्रामा सहभागी भइ भोटोजात्रा अवलोकन गर्नुभएको हो ।
मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ लगनखेलबाट जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा गुठी संस्थान ललितपुरका कर्मचारीले भोटो देखाएका थिए ।
सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो ।
गत बैशाख ११ गतेदेखि सुरु भएको रथ जात्रा बिहीबार भोटो देखाएसँगै यस वर्षका लागि जात्रा सम्पन्न भएको छ । भोटोजात्रा अवलोकन गर्न उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रीहरु सहभागी हुनुहुन्थ्यो ।
रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो । मत्स्येन्द्रनाथको रथ यात्रा बैशाख शुक्ल प्रतिपदामा सुरु भएर आषाढ शुक्ल चतुर्थी (दुई महिना)सम्म चल्छ ।
मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ ।
यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरुवात गराइएको किंवदन्ती छ ।









प्रतिक्रिया दिनुहोस्