
काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेका १६ जनासहित ३० अभियुक्तमाथि प्रहरीले उनीहरूको संलग्नता खुल्ने ४३ वटा प्रमाण फेला पारेको छ ।
प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको अनुसन्धान प्रतिवेदनपछि बुधबार जिल्ला अदालत काठमाडौंमा पेस गरिएको अभियोगपत्रमा ३० अभियुक्तका ४३ प्रमाण उल्लेख गरिएको छ । जसमा प्रहरीसमक्ष जाहेरवालाले बुझाएका फुटेजदेखि, बैंक भौचर र चेकसम्म प्रमाणका रूपमा छन् ।
यस्तै, अभियुक्तका मोबाइलमा भेटिएका म्यासेज, उनीहरूबाट बरामद कागजात र आर्थिक लेनदेनका विषयसम्म प्रमाणका रूपमा छन् ।
जिल्ला सरकारी वकिल कार्यालयमा पेस भएको अभियोगपत्रमा उनीहरूलाई विभिन्न पाँच कसुरमा मुद्दा अघि बढाउन राय दिइएको छ ।
उनीहरूमाथि ठगी, संगठित अपराध, सरकारी लिखत किर्ते, राज्यविरुद्धको कसुर र एकीकृत कसुरमा सजाय माग गरिएको छ ।
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्