
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसद नचलाउने नियत देखिएको आरोप लगाउनु भएको छ ।
शुक्रबार नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष एवं पूर्व प्रधमामन्त्री केपी शर्मा ओलीलाई पशुपतिनाथ मन्दिरमा जलहरी चढाएको विषयलाई लिएर माओवादी केन्द्रका सांसदले भ्रष्टाचारी करार गर्न खोजेको भन्दै प्रतिनिधि सभा बैठक अवरोध गरेको थियो ।
त्यही विषयमा खतिवडाले संसद चलाउने नियत नदेखिएको आरोप लगाउनु भएको हो । संचारकर्मीहरुसँग कुरा गर्दै खतिवडाले एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणलाई विषयान्तर गर्न अन्य विषयलाई संसदमा ल्याएको दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो – ‘सभामुखले शुरुमै रुलिङ गरिदिएर कुनै मन्त्रीलाई यो भएको के हो यस्तो कुराहरु आयो यसको जवाफ दिन म अनुरोध गर्छु भनेको भए सदन शुरुमै चल्थ्यो । सदन नचलाउने नियत देखियो कसको हो थाहा छैन ?।’
त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले पशुपतिको जलहरी प्रकरणको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन माग गर्नुभयो । उहाँले आजै छानबिन समिति गठन गर्नुपर्ने बताउनु भयो । उहाँले पशुपतिनाथ मन्दिरको जलहरीको विषयमा संसदमा प्रश्न उठाएर धार्मिक आस्था माथि प्रहार भएको पनि बताउनु भयो ।
जेठ १० गते प्रतिनिधि सभाको बैठकमा नेकपा माओवादी सांसद राजन (लेखनाथ) दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली सरकारमा रहँदा यती, ओम्नी, वाइडबडी, स्वास्थ्य सामग्रीमा अनियमितता भएको र पशुपतिमा जलहरी लगाउने क्रममा सुनको साटो पित्तल प्रयोग भएको आरोप लगाउनु भएको थियो । त्यही विषयलाई लिएर नेकपा एमालेले प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सत्ता पक्षबाट सो आरोपको जवाफ नदिएसम्म बैठक चल्न नदिने भन्दै बैठकको शुरुवातमै अवरोध गरेको थियो ।
सत्ता पक्षका सांसदले बिना प्रमाण प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई आरोप लगाएको र त्यसको जवाफ नआएसम्म बैठक चल्न नदिने अडान एमालेले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्