७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


काभा वुमन्स च्यालेन्ज कप : नेपाल सेमिफाइनलमा सिमित


442
Shares

काठमाडौं । काजाकस्तानसँग पाँचौं सेटमा सम्हालिएको प्रदर्शन गर्न नसक्दा नेपाल काभा वुमन्स च्यालेन्ज कप भलिबलको सेमिफाइलनमा सिमित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न दोस्रो सेमिफाइनल खेलमा नेपालले काजाकस्तानसँग ३-२ को सेटमा पराजित भएसँगै सेमिफाइनलमा समेटिएको हो ।

यससँगै नेपालको अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गर्ने अवसर गुमेको छ । सेन्ट्रल एशियन भलिबल संघको यसअघिका दुई प्रतियोगितामा नेपालले उपाधि जितेको थियो ।

निकै प्रतिष्पर्धात्मक बनेको खेलमा नेपाल पहिलो सेटमा नेपालले प्रतिष्पर्धात्मक ३०-२८ ले गुमाएको थियो । त्यसपछिका दुई सेटमा नेपालले उत्कृष्ट पुनरागमन गर्दै क्रमसः २५-१६ र २५-१५ ले जित्दा नेपालको एकपक्षीय प्रदर्शन रहेको थियो ।

चौथो सेटमा नेपालले अघिल्ला दुई सेटमा बनाएको लयलाई निरन्तरता दिन सकेन । शुरुवातदेखि नै लामो अग्रता बनाएको काजाकस्तानले यो सेट २५-१८ ले जित्यो । अनुभव र एक्स्पोजरमा पछि परेको नेपाल अन्तिम तथा निर्णायक सेटमा पहिलो अंक लिएर अग्रता बनाए पनि त्यसपछि लगातार काजाकस्तानले अंक जोड्न सफल रह्यो । अन्ततः १५-७ ले नेपालले खेल गुमाउन पुग्यो ।

जितसँगै अब उपाधिका लागि काजाकस्तान र भारत भिड्ने भएका छन् । शुक्रवारै भएको पहिलो सेमिफाइनलमा भारतले उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरी फाइनलमा स्थान बनाएको थियो । नेपालले भने तेस्रो स्थानका लागि उज्वेकिस्तानसँग खेल्नुपर्ने भएको छ ।

प्रतियोगिताको तेस्रो स्थान र फाइनल खेल आइतबार हुने छ ।