
काठमाडौं । पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाली महिला क्रिकेट टोली मलेसियाको महिला क्रिकेट टोलीसँग ५ विकेटले पराजित भएको छ ।
मलेसियाको वाइएसडी यूकेएम ओभलमा सोमबार भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य घरेलु टोलीले १३.२ ओभरमा ५ विकेट गुमाएर भेट्टायो ।
मलेसियाका लागि वान जुलियाले सर्वाधिक १३ रन बनाईन् । हमिजाहले अविजित १२ रन बनाईन् । नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २–२ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले १६.५ ओभरमा सबै विकेट गुमाएर ५० रन मात्र बनाउन सकेको थियो ।
नेपालका लागि सम्झना खड्काले १३ र ज्योती पाण्डेले ११ रन बनाइन् । नेपाललाई सस्तैमा समेट्ने क्रममा मलेसियाकी निक नुर अटिइलाले ३ र महिराहले २ विकेट लिइन् । जितसँगै मलेसियाले पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा १–० को अग्रता लिएको छ ।
नेपाली महिला टोलीले पहिलो पटक मलेसियासँग हार व्यहोरेको हो । यसअघि मलेसियासँग भएका तीन टी–२० अन्तराष्ट्रियमा नेपाल अपराजित रहेको थियो । मलेसियासँग नेपालका दोस्रो खेल मे ३० अर्थात मंगलबार रहेको छ ।
जुन १ मा तेस्रो,जुन ३ मा चौथो र जुन ४ मा पाँचौ तथा अन्तिम खेल रहेको छ ।
प्रतिक्रिया दिनुहोस्