१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


युवा नेताहरुको कांग्रेस रुपान्तरण अभियान भेला


260
Shares

    

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरुले सञ्चालन गरेको कांग्रेस रुपान्तरण अभियान अन्र्तगत मंगलबार(आज) बागमती प्रदेश भेला सम्पन्न भएको छ ।

काठमाडौको बत्तीसपुतलीमा आयोजना गरिएको भेलाका वक्ताहरुले पार्टी विधानअनुसार चल्नुपर्ने, नेतृत्वमा रहेको व्यक्तिवादी चरित्र अन्त्य हुनुपर्ने र पार्टीमा पुस्तान्तरण हुनुपर्नेमा जोड दिएका छन् । भेलालाई सम्बोधन गर्दै नुवाकोटका पूर्वजिल्ला सभापति समेत रहेका कांग्रेस नेता जगदीश्वरनरसिंह केसीले पार्टीमा समयअनुकूल नीति, भ्रातृ संस्थाहरूको पुनर्जीवन, व्यक्तिवादी र गुटकेन्द्रित राजनीतिको अन्त्यका लागि सञ्चालन गरिएको अभियानमा एकजुट हुन आग्रह गर्नुभयो । पार्टीको वर्तमान नेतृत्वको क्रेज सकिएकोले अब नयाँ नेतृत्व आउनुपर्ने जिकिर गर्दै नेता केसीले पन्ध्रौं महाधिवेशन चाँडो आयोजना हुनुपर्ने रुपान्तरण अभियानको प्रमुख एजेन्डा रहेको बताउनुभयो ।

जेठ ११ गते बिहीबार जनकपुरबाट रुपान्तरण अभियान शुरु भएको थियो । पार्टी विधानअनुसार नचलेको भन्दै सुधार गर्नुपर्ने विषयमा जिल्ला तथा स्थानीय तहका नेताहरुसँग सुझाव संकलनका लागि अभियान चलाइएको बताइएको छ । ७ वटै प्रदेशमा भेला सम्पन्न गरिसकेपछि प्राप्त सुझावका आधारमा थप कार्यक्रम चलाउने नेता केसीले जानकारी दिनुभयो । अभियानको तेस्रो कार्यक्रम जेठ २० गते गण्डकीको पोखरा,जेठ २२ गते लुम्बिनीको दाङमा,२४ गते कर्णालीको सुर्खेतमा,२६ गते सुदुरपश्चिमको धनगढीमा र २९ गते कोशी प्रदेशको इटहरीमा आयोजना हुनेछ ।

अभियानका लागि संस्थापनइतर पक्षका नेताहरुको बैठकले कोशीमा गुरु घिमिरे,मधेसमा रञ्जित कर्ण, वाग्मतीमा मधु आचार्य,गण्डकीमा देवराज चालिसे,लुम्बिनीमा गोविन्द पोखरेल,कर्णालीमा भुपेन्द्रजंग शाही र सुदूरपश्चिममा भरत खड्कालाई संयोजकको जिम्मा दिएको छ ।