
काठमाडौं । टीकापुर घटनामा मूख्य दोषी ठहर भएका पूर्व सांसद रेशम चौधरीलाई आममाफी दिने राष्ट्रपति रामचन्द्र पौडेलको निर्णय विरुद्ध परेको रिटमा सर्वोच्च अदालतमा बुधबार सुनुवाइ हुने भएको छ ।
टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा बोहरा कडायतले गत आइतबार दिएको रिट मंगलबार सर्वोच्चमा दर्ता भएलगत्तै आजका लागि पेशी तोकिएको हो ।
टीकापुर घटनाका मुख्य योजनाकारका रुपमा रेशम चौधरी विरुद्ध जिल्ला र उच्चले गरेको जन्मकैदको फैसलालाई सर्वाेच्च अदालतले पनि सदर गरेको थियो । तर,, जेलभित्रै रहेर राजनीतिक दल खोलेका चौधरीको पार्टीले गत निर्वाचनमा चार सीट जितेपछि उक्त दल अहिले सरकारमा रहेको छ ।
चौधरीकी पत्नी रञ्जिता अहिले भूमि व्यवस्था मन्त्री रहेकी छन् । सरकारले राजनीतिक सत्ता समीकरणको नाममा चौधरीलाई आममाफी दिएर सर्वोच्चको फैसलाको समेत अवज्ञा गरेको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्