
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुनैसुनले ढाकिएको देखिने गरी आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिएको गुनासो गर्नु भएको छ ।
औंठी लगाउने रुचि समेत नभएको मान्छेलाई जिउभरी सुनैसुनले ढाकिएको फोटो सामाजिक सञ्जालमा ट्रोल गरेर झुटको खेती गरेको भन्दै उहाँले आपत्ति समेत जनाउनु भयो । बुधबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयमा आयोजित कलाकारहरुको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले आफूले आमा बित्दा र एक पटक साथीले दिएको औंठी केही समय लगाएको तर त्यसबाहेक आफूले सुनको औंठी नलगाएको पनि पटकपटक बताउनु भयो । उहाँले त्यो सत्यलाई बग्यांएर आफ्नो सुनैसुनले ढाकेको आफ्नो फोटो सामाजिक सञ्जालमा ट्रोल गरिनु आपत्तिजनक रहेको बताउनु भयो । आफूसँग भएको ज्ञान, कला र क्षमताको दूरुपयोग गरेर यस्तो खालको गतिविधि गरिनु मुलुकका लागि दुःखको कुरा भएको पनि अध्यक्ष ओलीले बताउनु भयो ।
उहाँले भन्नु भयो, ‘केपी ओलीको फोटोमा हातभरी सुनैसुनका, यता पनि सुनैसुनका बोकि नसक्नु । त्यति सुन म बोक्न पनि सक्दिन होला । तर मेरो शरिरमा सुन भन्ने कुरा मैले जिन्दगीमा औैठी लगाएको छैन । म सानो हुँदा मेरो आमा बित्नु भएको । आमाले लगाउने गर्नु भएको औंठी यो तैँले लगा भनेर सानो छँदैखेरी एक पल्ट लगाई दिएका थिए । ३/४ दिन मैले लगाए । आमाले कान्छि औंलातिर लगाउको औंठी मैले बीचको औंलातिर लगाउँदा खेरी पुरुषको औंला अलि ठूलो हुन्छ नि । अलि सानै हुँदा बीचको औंलातिर मिल्थ्यो । त्यसो भएर २/४ दिन यो तिम्रो आमाको हो, तिमीले नै लगाऊ भनेर दिइएको थियो । त्यो औंठीले मलाई बडो डिस्टर्व गर्यो । आमा पटकपटक सम्झने कुरा काम भएको थियो । त्यो औंठी भएपछि फेरी आमा पटकपटक सम्झने । त्यो भएर म अलि बढी हडबडी भईरहने, आमाको सम्झनाले गर्दाखेरी त्यस्तो भयो । त्यस्तो भएपछि मैले त्यसलाई लगाउन सकिन । त्यो मैले फुकालेर मबाट हुँदैन , यो अरुलाई नै लैजाऊ भने, म लगाउन्न भने ।
त्यसपछि फेरी एक दिन एउटा साथीलाई के झोक चलेछ । एउटा औंठी ल्याएर मलाई दिए । त्यसको इऊ के थियो ? हिरा थियो कि अर्थोक थियो ? त्यो मलाई याद छैन । के थियो, उनले मलाई बडो माया गरेर तपाई कहिल्यै पैसा पनि बोकेर हिँडनु हुन्न । खर्च पनि हुँदैन । कहीँ केही परिहाल्यो, भोक लाग्यो भने यो लगेर खाएर पछि लगेर तिर्न पनि पाईन्छ । नचिनेका ठाउँमा पनि यो त चल्छ नि । यो एउटा लगाई राख्नुस भने । मैले सुनमा मेरो रुचि छैन भने । तैपनि लगाई राख्नुस न एउटा भन्यो । त्यो दिनभरी लगाए । बेलुका घरमा फुकालेर मैले राखे । त्यसपछि त्यो कसले लग्यो ? मलाई याद भएन । ’
ओलीले इमानमा अड्न नखोज्ने अवस्थामा नेपाली समाज पुगेको उल्लेख गर्दै त्यसबाट जोगाउनका लागि चेतनाको विगुल फुक्न पनि आह्वान गर्नु भयो । उहाँले पार्टीमा प्रवेश गरेका कलाकारहरुलाई राष्ट्र निर्माणको अभियानमा क्रियाशील गराउने पनि बताउनु भयो । एमालेले मुलुकको समृद्धिको अभियान संचालन गरेको र त्यसमा सबैलाई सहभागी गराएर लैजाने उहाँको भनाई थियो ।
प्रतिक्रिया दिनुहोस्