
काठमाडौं । केही दिनयता बढेको अत्यधिक गर्मीका कारण पूर्वी तराईका जिल्लाहरुमा विद्यालय बन्द गर्न थालिएको छ ।
मोरङ र सुनसरीका स्थानीय तहहरुले धमाधम विद्यालय बन्द गर्न थालेकाे हो ।
चर्को घाम र अत्यधिक गर्मीमा विद्यार्थीहरु विद्यालय पुग्न मुश्किल भएको र कक्षा कोठामा बसेर पढ्नसक्ने अवस्था समेत नभएको भन्दै विद्यालयहरु बन्द गर्न थालिएको हो ।
विराटनगर उपमहानगरपालिकाकाले गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भन्दै बिहीबार र शुक्रबार महानगरपालिका भित्रका सबै विद्यालयमा बिदा दिएको छ ।
बुधबार विराटनगरको तापक्रम ४१ डिग्री सेल्सियस पुगेको थियो । यस्तै सुनसरीका तीन वटा स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । इनरुवा नगरपालिकाले बिहीबारदेखि लागू हुने गरी जेठ २४ गतेसम्मका लागि एक साताको बिदा दिएको छ ।
वर्षे बिदाबाट कट्टा हुनेगरी बिदा दिइएको ईनरुवाका मेयर बताएका छन् । त्यस्तै ईटहरी उपमहानगरपालिकाले बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गरेको छ भने भोक्राहा नरसिंह गाउँपालिकाले बिहीबारदेखि एक साताका लागि बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्