
काठमाडौं । राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले शंखरापुरमा ज्येष्ठ नागरिक ग्राम बनाउने क्रममा आफूले आर्थिक अनियमितता नगरेको बताउनुभएको छ ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै अध्यक्ष पराजुलीले संखरापुरमा ‘संकल्प ज्येष्ठ नागरिक ग्राम’ निर्माण गर्दा कुनै प्रकारको आर्थिक अनियमितता नगरेको स्पष्ट पार्नुभयो । बैठकमा सांसदहरुले अध्यक्ष पराजुलीको नेतृत्वमा रहेको संस्थाले जेष्ठ नागरिक ग्राम बनाउन सरकारबाट पैसा लिएर पनि भवन बन्न नसकेको कुरा उठाएसँगै उहाँले सो कुराको स्पष्टोक्ति दिनुभयो ।
ज्येष्ठ नागरिक ग्राम बनाउन नेपाल सरकारबाट ६ करोड १ लाख रुपैयाँ लिएर काम गरेको भएपनि काम गर्दागर्दै २०७२ सालको भूकम्पले भवनमा क्षति पुगेका कारण भवन सम्पन्न गर्न नसकेको उहाँको भनाई छ ।
अध्यक्ष पराजुलीले अदालतबाट समेत सो विषयको मुद्दामा फैसला भइसकेको भन्दै कसैलाई चित्त नबुझे पुनरावेदन वा सर्वोच्च अदालत जानसक्ने बताउनु भयो । रकम हिनामिनामा आफ्नो संलग्नता देखिएमा सजायको भागिदार हुन तयार रहेको उहाँको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्