१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्वदेश फर्किए प्रधानमन्त्री दाहाल


143
Shares

काठमाडौं । छिमेकी मित्र राष्ट्र भारतको चार दिने औपचारिक भ्रमण पूरा गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शनिबार स्वदेश फर्किनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा यही जेठ १७ गते भारतको औपचारिक भ्रमणमा जानुभएका प्रधानमन्त्री दाहाल शनिबार साँझ काठमाडौ फर्किनु भएको हो ।

भारत भ्रमणको क्रममा पहिलो दिन प्रधानमन्त्री दाहालसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव विनयमोहन कात्राले भेटवार्ता गर्नुभएको थियो । सोही दिन प्रधानमन्त्री दाहाल नयाँ दिल्लीस्थित नेपाली राजदुतवासले आयोजना गरेको रात्री भोजमा सहभागी हुनुभएको थियो ।

जेठ १८ गते प्रधानमन्त्री दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो । सोही दिन नेपाल र भारतका बीचमा ७ बुँदे सहमतिसमेत भएको थियो । मुख्यतः सो सहमतिमा नेपालको जलबिद्युत भारतमा निर्यात गर्ने बिषयलाई प्राथमिकता दिएको थियो ।

भारतसँग भएको सहमति अनुसार १० वर्षमा भारतले १० हजार मेघावाट विजुली खरिद गर्ने जनाएको छ । द्धिपक्षीय प्रतिनिधिमण्डलबीच भएको वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्रीले पहिलो पटक सीमा विवादका बारे बोल्दै समस्या हल गर्ने बताउनुभएको हो । बिहीबार नै प्रधानमन्त्री दाहालले भारतका राष्ट्रपति द्रौपदी मूर्मूसंँग शिष्टाचार भेट गर्नुभएको थियो ।

भ्रमणको तेस्रो दिन जेठ १९ गते प्रधानमन्त्री दाहालले महाराष्ट्रको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पुजाअर्चना गर्नुभएको थियो । प्रधानमन्त्री दाहाल शुक्रबार आफ्नो सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानले आयोजना गर्नुभएको रात्रि भोजमा सहभागी हुनुभयो ।

भ्रमणको अन्तिम दिन शनिबार प्रधानमन्त्री दाहालसहितको टोली नेपाल एयरलाइन्सको जहाजबाट काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।