
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गैर जिम्मेवार र राष्ट्रहीत विपरित अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफ माग गर्ने भएको छ ।
शनिबार बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गैर जिम्मेवारपूर्ण अभिव्यक्ति दिएकोप्रति संसदमा जवाफमाग गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्रीले दाहालले भारत भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग फूलबारी बन्दरगाहसम्मको रुट माग्ने क्रममा सो बाटो उपलब्ध गराए कालापानी र लिपुलेक दिन सकिने भन्ने अभिव्यक्ति दिनुभएको थियो । अहिले प्रधानमन्त्रीको सो अभिव्यक्तिको बिरोध भइरहेको छ ।
पार्टीको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले प्रधानमन्त्रीले भरत भ्रमणका क्रममा देशहीतका कुनै विषय पनि उठान गर्न नसकेको बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीले भारतभ्रमणअघि संसदमा उठान गर्ने भनेका विषयहरु किन उठाउन नसकेको भन्ने प्रश्न गर्ने बताउनु भयो । उहाँले प्रधानमन्त्रीको भारत भ्रमण निराशाजनक भएको र भारत भ्रमण तीर्थाटन जस्तो भएको बताउनु भयो ।
गिरीले प्रधानमन्त्रीको अभिव्यक्तिले देशको गरिमामा आँच आएकोसमेत बताउनुभयो । उहाँले धरातलीय यथार्थलाई नबुझीकन बजेटल्याइएको दाबी गर्नुभयो । बजेट गन्तव्यहीन र प्रतिगमनतिर फर्काएर लैजाने किसिमको रहेको बताउनु भयो ।
त्यस्तै, उहाँले नागरिकता विधेयक प्रमाणिकरण गर्नु असंवैधानिक कदम भएको र राष्ट्रपतिलाई असंवैधानिक काम गर्न मन्त्रीपरिषद्ले बाध्य पारेको भन्दै राष्ट्रपतिले ख्याल नगरी संसद छलेर नागरिकता विधेयक ल्याएकोप्रति बिरोध गर्ने बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्