
काठमाडौं । आन्तरिक राजस्व विभागका महानिर्देशक दीर्घराज मैनालीले सरकारले आर्थिक विधेयकमा गरेका विशेष व्यवस्था स्वेछिच्क भएको बताउनुभएको छ ।
सोमबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) र विभागले सोमबार संयुक्त रुपमा आयोजना गरेको ‘परिवर्तित कर नीतिः भ्रम र यथार्थ’ विषय अन्तरक्रिया कार्यक्रममा बोल्दै महानिर्देशक मैनालीले यस्तो बताउनुभएको हो ।
उहाँले आर्थिक विधेयकमा ल्याएका व्यवस्था गरेका छुट सुविधाहरु लिन करदातालाई भनेको तर बाध्यकारी नभएको पनि बताउनुभयो ।
महानिर्देशक मैनालीले सरकारले अहिले आएको आर्थिक विधेयकमा आर्थिक ऐनका व्यवस्थाहरुमा केही पनि परिवर्तन नभएको बताउनुभयो । उहाँले सरकारले आयकर ऐनमा कुनैपनि संशोधन नगरेको पनि बताउनुभयो ।
महानिर्देशक मैनालीले करदातालाई विशेष सुविधाको व्यवस्था गर्दा अहिलेका वर्तमान समस्या समाधान सहज बनाउन खोजिएको बताउनुभयो । उहाँले सरकारलाई राजश्वको चाप रहेकाले बढी आय भएकाहरुलाई आय करमा वृद्धि गरिएको बताउनुभयो ।
उहाँले सरकारले ५० लाख भन्दा बढी आम्दानी भएकालाई ३० प्रतिशत आयकर व्यवस्था गरेको बताउनुभयो । उहाँले सरकारको राजश्व संकलनमा सहजता भएसँगै घटाउने बताउनुभयो । उहाँले ५० लाख भन्दा बढी आम्दानी गर्ने करदाता १ हजार ५० करदाता रहेको बताउनुभयो ।
महानिर्देशक मैनाली मूल्य अभिवृद्धि कर (भ्याट) लागू हुँदा पनि हवाई टिकटको मूल्य ५ देखि ६ प्रतिशतमात्रै बढ्ने बताउनुभयो । उहाँले नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचिमा हवाई टिकटलाई समेत समावेश गरेको भन्दै १३ प्रतिशतले महंगिने भन्ने प्रचार गलत भएको बताउनुभयो ।
महानिर्देशक मैनालीले बढीमा ५ देखि ६ प्रतिशतमात्रै टिकटको मूल्य बढ्ने बताउनुभयो । उहाँले हवाई टिकटको भाडामा मात्र भ्याट लाग्ने, इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट जोडिने भएकाले अब भाडामा मात्रै लाग्ने बताउनुभयो । उहाँले इन्धन चार्ज, विमानस्थल शुल्क, बीमा शुल्क र वायुसेवा कम्पनीले लिने भाडा गरी अहिले यात्रुले हवाई भाडाका रुपमा एकमुष्ट रकम तिरिरहेको बताउनुभयो ।
महानिर्देशक मैनालीले इन्धन र विमानस्थल शुल्कमा अहिले पनि भ्याट तिरिरहेका कारण अतिरिक्त तिर्नु नपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने वस्तुको सूचिमा हवाई टिकटलाई समेत समावेश गर्दा करिब १० अर्ब राजस्व बढ्ने अवस्था रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्