२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको बहस सकियो


273
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत आइतबारदेखि जारी थुनछेक बहसका सरकारी वकिल कार्यालयले आफ्नो बहस सकाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भएको थियो । गत आइतबार सरकारी वकिलका तर्फबाट महेश खत्रीले बहस गरेकोमा सोमबार र मंगलबार जनक घिमिरे, सीताराम अर्याल, दिनेश भट्टराई, प्रकाश घिमिरेलगायतले बहस गर्नुभएको हो ।

अब पीडित पक्षका निजी वकिलले बहस गर्नेछन् भने त्यस लगत्तै प्रतिवादीका तर्फबाट बहस हुनेछ । यसअघि न्यायाधीश न्यौपानेले वादी तर्फबाट ३ दिन र प्रतिवादीका तर्फबाट ६ बहसका लागि ६ दिनको समय छुट्याएकोमा थुनछेक बहस सकिएपछि न्यायाधीश न्यौपानेको इजलासले धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नुहुने छ ।

अदालतले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश गरेमा तोकिएको धरौटी भरेर छुट्नेछन् भने थुनामा पठायो भने फैसला नभएसम्मका लागि थुनामा रहनुपर्ने छ । जिल्ला अदालतले थुनामा पठाउने आदेश गरेमा उनीहरु त्यसविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च जान सक्ने छन् ।

पक्राउ परेकाहरु अधिकांशले आफूमाथिको आरोप अस्वीकार गर्दै आएका छन् । यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा एमालेका सचिव समेत रहेका सांसद टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, पूर्वसांसद तथा कांग्रेसका नेता आङटावा शेर्पा पक्राउ परेका छन् ।

त्यसैगरी हज समितिका अध्यक्ष शमशेर मियाँलगायत १८ जना अहिले हिरासतमा छन् ।