
काठमाडौं । प्रसतनिधि सभाको बैठकमा सांसदहरुले देशको विभिन्न समसामयिक बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधि सभाको बहिबारको बैठकमा सांसदहरुले देशभर बढेको गर्मीले जनजीवन प्रभाबित भएको, गाई भैंसीहरुमा लाग्ने लम्पिस्किन रोग नियन्त्रण लगायतका बिषष्यमा सरकारको ध्यानकर्षण गराएका हुन् ।
बैठकमा प्रतिनिधि सभा सदस्य धवल समशेर जबराले नेपालगञ्जमा गर्मी बढेको भएपनि बिजुली गइरहने समस्या हुँदा जनजिवन प्रभावित भएको बताउनु भयो । उहाँले नेपालगञ्ज कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदी, बन्दी राखिएको उल्लेख गर्दै निर्माण सम्पन्न भइसकेको क्षत्रिय कारागार सञ्चालन गर्न माग गर्नुभयो ।
त्यसैगरी सांसद डोलप्रसाद अर्यालले काठमाडौं उपत्यकामा निकालिने भूमिगत पानीको पुनर्भरणको व्यवस्था गर्न माग गर्नुभयो । अर्यालले काठमाडौं उपत्यकामा १३ करोड लिटरभन्दा बढी भूमिगत पानी तान्ने गरिएकोले त्यसको पुनर्भरणको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । उहाँले जसले जति पानी निकाल्छ, सोही अनुरुप शुल्क तोक्न पनि उहाँले माग गर्नुभयो ।
सांसद तेजुलाल चौधरीले विद्यालय कर्मचारीहरु आफ्नो सेवा, सुविधाको विषयलाई लिएर आन्दोलित भइरहेको भन्दै उनीहरुको माग सम्बोधन गर्न माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य दामोदर पौडेल बैरागीले संघीयता निजामती सेवा ऐन तुरुन्त ल्याउन सरकारको ध्यानाकर्षण गराउनु भयो ।
सांसद दिपक खड्काले कुलुङ र मेवाङ जातिलाई आदिबासी जनजातिमा सूचिकृत गर्न माग गर्नुभयो । प्रतिनिधि सभा सदस्य दीपकबहादुर सिंहले कृषि अनुदानको दुरुपयोग भइरहेको भन्दै छानविन गरी दोषि उपर कारबाही गर्नुपर्ने बताउनु भयो । उहाँले कृषि अनुदान दुरुपयोगमा सांसद र मन्त्रीहरु नै संलग्न रहेको बताउनु भयो ।
सांसद दिलेन्द्रप्रसाद बडूले देशको ३५ भन्दा बढी जिल्लामा गाई भैंसीहरुमा लाग्ने लम्पिस्किन रोग फैलिएको भन्दै रोग नियन्त्रण तथा रोकथामका लागि यथाशीघ्र पहल गर्न सरकारसँग माग गर्नुभयो ।
त्यसैगरी सनंसद वसन्तकुमार नेम्वाङले पनि लम्पिस्किन रोग नियन्त्रणका लागि सरकारसँग माग गर्नुभयो । उहाँले यस रोगको सम्बन्धमा यथार्थ तथ्यांक संसदमा पेस गर्न पनि माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्