
ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको सही प्रयोग गर्न नसक्दा साइबर अपराधका घटना बढेको बताउनुभएको छ ।
बिहीवार ललितपुरमा आयोजित नेपाल मोबाइल व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्राविधिक शिक्षाको कमी हुँदा कतिपय युवाहरु बर्बादीको शिकार भइरहेको बताउनु भयो । उहाँले साइबर शिक्षा र डिजिटल माध्यमको प्रयोगसम्बन्धी शिक्षा दिन नसक्दा समस्या बढीरहेको बताउनु भयो ।
मन्त्री शर्माले सामाजिक सञ्जालको दुरुपयोगका कारण आत्महत्या गर्नुपर्ने स्थिति समेत हुने गरेको भन्दै यसलाई समयमा नै नियन्त्रण र यससम्बन्धी शिक्षा दिन आवश्यक रहेको बताउनु भयो । उहाँले सूचना र प्रविधिमा हुने विकृतिका कारण युवापुस्ताहरु भड्किरहेको बताउनु भयो । उहाँले नेपालमा साइबर सुरक्षा नीति नभएकाले वर्तमान सरकारले त्यससम्बन्धी काम गरिरहेको बताउनु भयो । उहाँले डिजिटल शिक्षालाई जनस्तरमा पुर्याउनसके सूचना र प्रविधिसम्बन्धीका धेरै समस्या समाधान हुने बताउनु भयो ।
मन्त्री शर्माले मोबाइलको विकाससँगै प्राविधिक शिक्षालाई पनि जनस्तरमा पुर्याउन जरुरी रहेको बताउनु भयो ।
प्रतिक्रिया दिनुहोस्