१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल र कतारको मानव अधिकार समितिबीच सम्झौता


0
Shares

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोग, नेपाल र कतारको मानव अधिकार समितिबीच तीन वर्षको सम्झौता भएको छ । बिहीबार काठमाडौंमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

अब नेपालबाट रोजगारीको लागि कतार पुगेका नेपालीहरुको मानवअधिकार हनन भएको बारेमा त्यहाँस्थित कतारकको मानव अधिकार समितिमा उजुरी दिन सकिने छ । सम्झौतापछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय मानव अधिकार आयोग, नेपाल का.मु.सचिव मुरारीप्रसाद खरेलले कतारको मानव अधिकार समिति र नेपालको मानव अधिकार आयोगको बीच तीन वर्षको लागि एमओयु भएको बताउनुभयो ।

उहाँले कतारमा काम गर्ने नेपाली कामदारहरुको हक र अधिकार संरक्षणका लागि यो सम्झौताले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले कतारमा भएका नेपालीहरुको मानव अधिकार हनन भए नेपाली भाषामा नै उजुरी दिन सकिने र त्यहाँ नेपाली डेस्क सञ्चालनमा ल्याउने पनि बताउनुभयो ।

उहाँले समितिले कतारमा रहेका नेपालीहरुको मानव अधिकारको सुनिश्चितताका लागि नेपालीहरुले काम गर्ने कम्पनीहरुको अनुगमन र कामदारको समस्या बुझेर कतार सरकारलाई जानकारी गराउने सहमति भएको पनि बताउनुभयो ।

का.मु.सचिव खरेलले कतारको मानव अधिकार समितिसँग राष्ट्रिय मानव अधिकार आयोगले दोस्रो पटक सम्झौता गरेको र सन् २०१५ मा पनि समितिसँग सम्झौता भइसकेको बताउनुभयो ।