
काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री जनार्दन शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्रही र प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ ।
अध्यक्ष ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटलाई शुन्य मार्क दिनु भएको उल्लेख गर्दै उपमहासचिव शर्माले उहाँको सो मूल्यांकन सत्ताबाट विमुख हुनुपर्दाको पूवाग्रह र प्रतिशोधबाट प्रेरित रहेको प्रतिक्रिया दिनु भएको हो । शुक्रबार प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम बस्तुनिष्ट हुनै नसक्ने बताउनु भयो । उपमहासचिव शर्माले आगामी १० वर्षको बजेटको बस्तुनिष्ट समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्ताव समेत गर्नु भयो ।
यसरी बनेको उच्चस्तरीय आयोगले बजेटको सही मूल्यांकन गर्न सक्ने र मुलुकमा विद्यमान आर्थिक संकट समाधान गर्न सकिने उहाँको तर्क थियो । उपमहासचिव शर्माले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय क्षेत्रका स्वतन्त्र पहिचान भएका विज्ञहरुको पनि सहयोग लिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।
प्रतिक्रिया दिनुहोस्