
बर्दिया । बर्दियामा अत्याधिक गर्मी बढेपछि बाँसगढी नगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको छ ।
बाँसगढी नगरपालिका शिक्षा शाखाका प्रमुख तथा उपसचिव मन प्रसाद रेग्मीका अनुसार अत्याधिक गर्मिको कारण वर्षे बिदामा कट्टी हुने गरि पाँच दिन बिदा दिइएको छ ।
आगामी जेठ २८ देखि असार १ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको बाँसगढी नगरपालिका शिक्षा शाखाका अधिकृत छत्र बहादुर शाहीले जानकारी दिनुभयो ।
पछिल्लो समय जिल्लाको अधिकतम तापक्रम ४० डिग्री र त्यो भन्दा माथि मापन हुन थालेको छ । जसका कारण दिउँसोमा लु तातो हावा चल्ने गरेको छ । गर्मी बढेका कारण बालबालिकाको स्वास्थ्यमा पर्ने असरलाई मध्यनजर गर्दै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरिएको उहाँले बताउनुभयो ।
बाँसगढी नगरपालिकामा ४० सामुदायिक र १७ वटा संस्थागत गरी कुल ५७ वटा विद्यालय रहेका छन् । बाँसगढी नगरपालिकाले गर्मी बिदाको सूचना जारी गरेको छ । अन्य सात पालिकाले भने कुनै निर्णय गरेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्