
काठमाडौं । सांसदहरुले आर्थिक वर्ष २०८०/८१ को बजेट संशोधनसहित पारित गर्नुपर्ने धारणा राखेका छन् ।
सत्तारुढ र प्रतिपक्षी दलका सांसदहरुले बजेट संशोधनसहित पारित गर्नु नै उपयुक्त हुने धारणा राखेका हुन् । यद्यपी बजेट संशोधन गर्ने कुरामा सत्तारुढ दलहरुको स्वार्थ बाझिएको हुनसक्ने पनि प्रतिपक्षी दलहरुले आशंका गरेका छन् ।
नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले सत्तारुढ दलका सांसदलाई भागबण्डा पुर्याउनका लागि बजेट संशोधन गर्नेकुरा गरिएको बताउनुभयो । सरकारले बजेट संशोधन गर्ने कुरा सुनिएपनि बजेटको आधारभुत पक्षहरुमा संशोधन गर्न नखोजिएको उहाँको आशंका छ ।
एमाले सचेतक महेश बर्तौलाले बजेटलाई पुनःलेखन नै गर्नुपर्ने आफ्नो पार्टीको भनाइ रहेको बताउनुभयो । उहाँले प्रतिपक्षी दलका सांसदहरुले संसदमा उठाएका विषयहरुलाई सरकारले सम्बोधन गर्नुपर्ने तर्क गर्नुभयो । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले विधि र कानूनले दिएसम्म बजेटलाई परिमार्जन गरेर लैजानुपर्ने बताउनुभयो ।
यस्तै, केही सांसदले संसदमा छलफलपश्चात बजेट संशोधन गर्दा राम्रो हुने धारणा राखेका छन् । बजेट संशोधन हुँदा सांसदहरुको गरिमा बढ्ने पनि बताएका छन् । यस्तै, फजुल खर्च कटाउने र भौगोलिक विविधताका आधारमा बजेट विनियोजन गर्नुपर्ने कुरालाई उनीहरुले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्