
काठमाडौं । आन्तरिक राजस्व विभागले वार्षिक ४० लाख वा सो भन्दाबढी आम्दानी गरेका तर कर नतिरेकाहरुको पहिचान गर्न मातहतका कार्यालयलाई निर्देशन दिएको छ ।
आन्तरिक राजस्व विभागले ठूला करदाता कार्यालय,मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालयहरु र करदाता सेवा कार्यालयलाई पत्र लेखेर वार्षिक ४० लाख वा सो भन्दा बढी आय भएपनि न्यून अग्रिम कर कट्टी गर्नेहरुमाथि निगरानी बढाउन निर्देशन दिएको हो ।
विभागले आईटीएस प्रणालीमा सुधार गरी ४० लाख वा सो भन्दा बढी आय भएको तर आय विवरण पेश नगर्ने करदाताको पहिचान गर्न सकिने प्रणाली सञ्चालनमा ल्याएको छ ।
यस्तो विवरण हेर्दा कतिपय करदाताले ४० लाख रुपैयाँ भन्दा बढीको आय भएपनि अग्रिम कर कट्टी न्यून गरेको भेटिएपछि कार्यालयले यस्तो निर्देशन दिएको जनाएको छ । कार्यालयहरुले अब यी करदाताले आयकर दाखिला गरे/नगरेको, विवरण दिए नदिएको लगायत सबै विवरण चेक, जाँच परीक्षण गरी सो को प्रगति विवरण विभागमा बुझाउनु पर्ने भएको छ ।
आन्तरिक राजस्व विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलले यो सूचना नियमित प्रक्रियाका रुपमा प्रवाह भएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्