
काठमाडौं । किर्गिस्तानको विस्केकमा आयोजना हुने काभा पुरुष भलिबल नेसन्स लिगका लागि नेपाली राष्ट्रिय पुरष भलिबल टोलीलाई बिदाई गरिएको छ ।
नेपाल भलिबल संघले आज पत्रकार सम्मेलन गरेर किर्गिस्तानमा आयोजना हुने लिगका लागि नेपाली खेलाडीलाई बिदाई गरेको हो । नेपाल भलिबल संघले प्रशिक्षणमा रहेका १८ सदस्यीय टोलीबाट ६ खेलाडीलाई हटाउँदै अन्तिम १२ सदस्यीय नेपाली टोलीको घोषणा गरेको थियो । टोलीलाई प्रशिक्षक जगदिशप्रसाद भट्ट र सहायक प्रशिक्षक भरत यादवसँगै लोेकेश बुढा रहेको प्रशिक्षण टोलीले १२ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् । नेपाली टोलीलाई प्रशिक्षण गराईरहेका प्रशिक्षक जगदिशप्रसाद भट्टले काभाको प्रतियोगितामा सहभागी हुन नै नेपालका लागि मौका भएको बताउनु भयो । लिग प्रणालीमा आयोजना हुने प्रतियोगितामा बलिया टोलीसँग नेपाली टोलीले खेल्न पाउनु नै अनुभव बटुल्ने अवसर भएको भन्दै प्रशिक्षक भट्टले चीनमा आयोजना हुने एसियन गेम्सको लागि राम्रो तयारी हुने बताउनु भयो ।
संघले त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा वैशाख तेस्रो साता तीन दिनसम्म गरेको खुल्ला छनोटबाट १८ खेलाडीलाई बन्द प्रशिक्षणमा छनोट गरेको थियो । छनोट लगत्तै टोलीलाई बन्द प्रशिक्षणमा राखिएको थियो । नेपाली पुरुष भलिबल टोलीले यसवर्ष १९औं एशियाली खेलकुदसँगै काभा पुरुष भलिबल नेसन्स लिग खेल्ने तालिका रहेको छ ।
एशियन गेम्स चीनको हाङझावमा आगामी सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुँदैछ र काभा पुरुष भलिबल नेसन्स लिग किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुँदैछ । प्रतियोगितामा नेपालसहित ७ टोलीको सहभागिता रहने भएको छ । काभामा नेपालसँगै आयोजक किर्गिस्तान, पाकिस्तान, उज्वेकिस्तान, काजकिस्तान, इरान र तुर्केमिनिस्तान रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्