१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


गृहमन्त्री श्रेष्ठसँग अस्ट्रेलिया र बंगलादेशका राजदूतबीच भेट


117
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेट भएको छ ।

बिहीबार गृह मन्त्रालयमा मन्त्री श्रेष्ठ र राजदूत भोल्कबीच शिष्टाचार भेटघाट भएको हो ।

भेटमा उपप्रधानमन्त्री श्रेष्ठले नेपाल र अस्ट्रेलियाबीचको सम्बन्ध सधैं सौहार्दपूर्ण रहेको र अस्ट्रेलियाले नेपाललाई प्रदान गर्दै आएको सहायताको लागि विशेष धन्यवाद दिनुभयो ।

राजनीतिक परिवर्तनपछि आफूहरूको सम्पूर्ण ध्यान आर्थिक विकासमा केन्द्रित रहेको तर, त्यसको लागि विदेशी लगानी आकर्षित गर्ने र बढ्दो व्यापार घाटाको नियन्त्रण गर्ने काममा अस्ट्रेलिया जस्तो देशबाट साथको अपेक्षा गरेको उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो । राजदूत भोल्कले भने नेपालजस्तो आत्मीय देशको विकास साझेदार हुन पाउँदा आफूलाई खुशी लागेको बताउनुभयो ।

त्यस्तै, उपप्रधानमन्त्री श्रेष्ठसँग नेपालका लागि बंगलादेशका राजदुत सालाउद्दिन नोमन चौधरीबीच भेटवर्ता भएको छ । भेटमा नेपाल र बंगलादेशबीचको सधैंको सौहार्दपूर्ण सम्बन्धलाई विद्युत प्रशारण लाइन सम्बन्धी सम्झौताले सहकार्य र विकासमा अर्को कोशेढुङ्गा सावित गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताउनुभयो ।

साथै दुई देशबीच व्यापार सम्झौतामा समेत काम भइरहेको आफुले बुझेको बताउनुभयो । राजदूत चौधरीले पनि द्विपक्षीय सौहार्दपूर्ण सम्बन्धमा विद्युत प्रशारण लाइन कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो ।