१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग आज सुनुवाइ समितिमा सवाल जवाफको कार्यक्रम


78
Shares

काठमाडौं । संसदीय सुनुवाई समितिमा शुक्रबार प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सवाल जवाफको कार्यक्रम राखिएको छ ।

बिहीबारदेखि सुनुवाइमा उपस्थित हुनुभएका कार्कीसँग शुक्रबार समितिका सदस्यहरुले प्रश्नहरु गर्ने छन् । सुनुवाइ बिहान ८ बजेदेखि शुरु हुदैछ । कार्की विरुद्ध समितिमा २९ वटा उजुरी परेका छन् ।

बिहीबार पहिलो पटक समितिमा उपस्थित हुनु भएका कामु प्रधानन्यायाधीश कार्कीले अदालतमा हुने भ्रष्टाचारमा शुन्य सहनशीलता कायम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । २० पेज लामो लिखित प्रतिवद्धता पेश गर्ने क्रममा उहाँले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेस सुनाउनुभयो ।

अदालतमा हुनसक्ने अनियमितता र भ्रष्टाचारजन्य कार्यप्रति शुन्य सहनशीलताको नीति अवलम्वन, अनुगमन तथा सुपरीवेक्षण र निगरानीमुलक संयन्त्रको क्रियाशीलतामार्फत अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधिको नियन्त्रण गर्न पहल गर्ने पनि उहाँको भनाइ थियो ।

सर्वोच्च अदालत, उच्च अदालत र जिल्ला अदालतमा गोला प्रथाबाट पेसी तोक्ने व्यवस्था लागू भएपछि न्याय निरुपण सहज बनेको दाबी गर्दै उहाँले गोलाप्रणालीबाट पेसी तोक्दा विगतको भन्दा ६० प्रतिशतले अनियमितता घटेको बताउनुभयो ।

कार्कीले गोला प्रथाबाट पेशी तोक्ने नियमले देशभर राम्रो सन्देश प्रवाह भएको भन्दै खुशी प्रकट गर्दै भन्नुभयो– ‘गोला प्रणालीबाट सर्वोच्च, उच्च र जिल्ला अदालतमा पेसी व्यवस्थापन गर्दा मुद्दाको फछ्र्याैटमा सकारात्मक परिणाम आएको छ ।’

संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने व्यवस्था छ । कार्कीमाथिको संसदीय सुनुवाई शुक्रबारबाट शुरु भएको हो ।

शनिबार बिहान ८ बजे पुनः बैठक बसेर समितिका सदस्यहरुले कार्कीसँग जिज्ञासा राख्ने बताइएको छ ।