
काठमाडौं । रामेछाप जिल्लाको मन्थली नगरपालिका–१३ साँखे (फुलासी)स्थित नयाँ खिम्ती सबस्टेसनमा निर्माण गरिएको १३२/३३/११ किलोभोल्ट (केभी) सबस्टेसन पूर्वाधार सञ्चालनमा आएको छ ।
रामेछाप (गज्र्याङ)–नयाँ खिम्ती १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि निर्माण गरिएको सवस्टेसन बिहीबारबाट सञ्चालनमा ल्याइएको हो ।
सवस्टेसनमा ३० एमभिए क्षमताका २ वटा र ३३/११ केभी, ६/८ एभिए क्षमताको १ वटा पावर ट्रान्सफर्मरहरु राखिएका छन् । स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि सबस्टेसनबाट ३३ केभीका ५ वटा र ११ केभीका तीन वटा फिडर लाइनहरु निकालिएका छन् ।
३३ केभीका फिडरलाई बिहीबार चार्ज गरी रामेछापको मन्थली, दोरम्बा र दोलखाको केही भागमा विद्युत् आपूर्ति दिन सुरु गरिएको छ । ११ केभीको एउटा फिडर लाइनमार्फत खिम्ती ग्रामीण विद्युत सहकारीलाई आपूर्ति दिइने छ । उक्त सहकारी दोलखा र रामेछापको केही क्षेत्रमा विद्युतीकरण गरेको छ ।
दोलखामा सञ्चालित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले २२०/१३२ केभी क्षमताको नयाँ खिम्ती सबस्टेसन निर्माण गरेको थियो । तर, सवस्टेसनमा स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि कुनै व्यवस्था नभएपछि नेपाल विद्युत् प्राधिकरणले १३२/३३/११ केभीको सबस्टेसन पूर्वाधार बनाएको हो ।
१३२/३३ केभीको पूर्वाधार तयार भएपछि नयाँ खिम्ती सवस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्ति दिन सुरु भएको छ । नयाँ खिम्ती सवस्टेसनमा माथिल्लो तामाकोशीसहित खिम्ती र लिखू नदी करिडोरका जलविद्युत् आयोजनाहरुको विद्युत जोडिएको छ ।
ती आयोजनाहरुबाट नयाँ खिम्ती सबस्टेसनमा प्रवाह भएको विद्युतलाई १३२/३३ केभी सवस्टेसनमार्फत ३३ तथा ११ केभीमा झारेर स्थानीय रुपमा आपूर्ति गरिएको छ । बाँकी विद्युतलाई २२० केभी प्रसारण लाइनमार्फत धनुषाको ढल्कबर र १३२ केभी लाइनमार्फत सिन्धुपाल्चोकको लामोसाँघु सवस्टेसनतर्फ प्रवाह गरिएको छ । १३२/३३/११ केभी सवस्टेसन सञ्चालनमा आएपछि रामेछाप र दोलखाको केही भागमा त्यहींबाट विद्युत् आपूर्ति दिइएको छ ।
रामेछाप जिल्लाको पूरै क्षेत्रमा र दोलखाको जिरी नगरपालिका, वैतेश्वर तथा तामाकोशी गाउँपालिका अन्तर्गतका क्षेत्रमा नयाँ खिम्ती सवस्टेसनबाट विद्युत् आपूर्ति दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्