१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बर्दियामा गर्मीका कारण जनजीवन कष्टकर


364
Shares

बर्दिया । बर्दियामा हरेक दिन बढिरहेको तापक्रमले जनजीवन कष्टकर बनेको छ ।

बर्दियामा उच्च तापक्रम र बढ्दो गर्मीका कारण जनजीवन प्रभावित बनेको हो ।

तापक्रम ४२ देखि ४५ डिग्री सेल्सियस पुग्ने र तातो हावा चल्ने हुँदा स्थानीयको दैनिकी कष्टकर बनिरहेको छ ।

बर्दियामा जता छोयो उतै तातो भुइँ, लत्ताकपडा, हावा, पानी केही पनि चिसो छैन । जतिबेला पनि पसिनाले लुछुप्पै, गर्मीले कहाँ ढलाउँछ, पत्तो हुँदैन । बजारमा किनमेल ठप्प छ, सडक सुनसान छन् । यहाँको तापक्रम ४२ देखि ४५ डिग्री सेल्सियस पुग्ने र तातो हावा चल्ने हुँदा स्थानीयको दैनिकी प्रभावित बनेको छ ।

गर्मीको मार सबैभन्दा बढी दैनिक कमाएर खाने मजदुरलाई परेको छ । केही दिनयता अचाक्ली बढेको गर्मीले काम परेपनि दिउँसो घरबाहिर निस्कन सक्ने अवस्था नभएपछि काम थाँती राखेर बसिरहेको स्थानीय बताउँछन् ।

बिहानैदेखि लागेको चर्काे घामले बालीनाली सुक्न थालेका छन् । वर्षे पानीमा आश्रित कृषकले खेतमा जेनतेन राखेको ब्याड पनि सुक्न थालेको छ । बढदो गर्मीले पशुपंक्षीसमेत पानी र शीतल खोज्न थालेका छन् । असार लाग्दा पनि पानी पर्न नसक्नु अचम्मै भएको बढैयाताल गाउँपालिका– ९ का भरत थारुले बताउनु भयो ।

गुलरिया नगरपालिका– ३ बस्ने नर बहादुर थापाले विगतका वर्षहरुमा यती धेरै गर्मी भएको आफुलाई महसुस नभएको बताउनु भयो । यसवर्ष गर्मी बढी भएको र दिनभरी घर बाहिर निस्कन नसक्ने गरी तातो हावा चलिरहेको हुँदा घरपालुवा पशुपंक्षी लगायतलाई पनि समस्या भएको बताउनुभयो ।

बर्दियामा अधिकतम ४५ र न्यूनतम २९ दशमलव आठ डिग्री सेल्सियस तापमान मापन गरिएको जल तथा मौषम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम बढदो क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउनु पर्ने बर्दिया अस्पतालका चिकित्सक डा. विश्वनाथ कुमार साहको भनाइ छ ।

बर्दियामा असार लाग्दासम्म वर्षा हुन सकेको छैन । पानी नपरेकै कारण तापक्रम बढदो छ । गर्मीले दैनिक ज्याला मजदुरी गर्ने, खेतीपाती र पशुपालन गर्ने कृषक बढी मारमा परेका छन् ।