१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


काठमाडौंमा आजदेखि हिन्दी चलचित्रको प्रदर्शनमा रोक


7.969k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा सोमबारदेखि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।

दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ मा जनकपुत्री जानकीलाई भारतीय छोरी भनिएकोमा त्यसलाई सच्याउनका लागि गरिएको आग्रह चलचित्र निर्माताले बेवास्ता गरेपछि महानगरपालिकाले कुनै पनि हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले राष्ट्रियता, साँस्कृतिक एकताको संरक्षण गर्नु स्थानीय सरकारको दायित्य भएको भन्दै महानगरपालिकाभर उक्त चलचित्र प्रदर्शनमा रोक लगाउन आह्वान गर्नुभएको हो ।

चलचित्र प्रदर्शनमा रोक लगाउन आइतबारै राती काठमाडौंका हलहरुमा नगर प्रहरीहरु पुगेका थिए । चलचित्र हलहरूको छाता संगठन चलचित्र संघका उपाध्यक्ष भाष्कर ढुंगानाले दर्शकको सुरक्षाका निम्ति सोमबारदेखि ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने निर्णयमा पुगेको जानकारी दिनुभयो ।

आइतबार अपराह्न महानगर प्रमुख साहले सोमबारदेखि महानगर क्षेत्रमा हिन्दी चलचित्र प्रदर्शनमा निषेध गरिएको बताउँदै स्टाटस लेख्नुभएको थियो । ‘जानकी भारतीय छोरी’ हुन् भन्ने संवाद चलचित्रको मूल भागबाट हटाउनका लागि सरकारलाई ३ दिन पहिले गरेको आग्रहलाई बेवास्ता गरेको भन्दै साहले चलचित्रका कारण नेपालमाथि सांस्कृतिक अतिक्रमण भएको दाबी गर्नुभएको छ ।

उता, पोखरामा पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइएको छ । पोखरा महानगरपालिकाले सिनेमा हलहरूलाई पत्र लेखेर चलचित्र ‘आदिपुरुष’ मा भएको त्रुटि नसच्चिएसम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।

आइबारै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हिन्दी फिल्म ‘आदिपुरुष’ मा उल्लेखित केही शब्दावलीका विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयका सहायक प्रवक्ता विशाल सापकोटाले विज्ञप्ति सार्वजनिक गर्नुहुँदै नेपालको राष्ट्रिय विभूति जानकीलाई भारतीय छोरीको रुपमा प्रस्तुत गरिएको संवादको विषयमा ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको हो ।