२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाढी र पहिरोमा परी ७ जनाको मृत्यु २८जना बेपत्ता


1.95k
Shares

काठमाडौं । कोशी प्रदेशमा शनिबार रातिदेखि भएको वर्षापछि आएको बाढी र गएको पहिरोमा परी मृत्यु हुनेको संख्या सात पुगेको छ ।

बाढी र पहिरोमा परी अझै २८ जना बेपत्ता छन् भने ६ जना घाइतेको उद्धार भएको छ । कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्यांकअनुसार खोलाले बगाएर भोजपुर र संखुवासभामा १/१ जना पुरुषको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु हुनेमा ५ जना रहेका छन् । जसमा पाँचथरमा १ पुरुष र १ बालिका तथा ताप्लेजुङमा ३ जना पुरुषको पहिरोमा पुरिएर मृत्यु भएको छ । यस्तै हालसम्म पहिरोले पुरेर बेपत्ता हुनेहरुमा पाँचथरमा ४, ताप्लेजुङमा ३ जना रहेका छन् भने खोलाले बगाएर बेपत्ता हुनेको संख्या २१ जना रहेको छ । जसमा संखुवासभामा १८ पुरुष र ३ जना महिला बेपत्ता भएको सो मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार जम्मा १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ । यस्तै ५ वटा हाइड्रोमा क्षति पुग्नुको साटै ५४ घर विस्थापित बनेको सो मन्त्रालयले जनाएको छ । यस्तै ३ वटा सवारी साधन बाढीले बगाएको छ भने ३२ वटा भवन तथा घरहरू पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ ।

आंशिक रूपमा २२ घरमा क्षति पुगेको छ । यस्तै विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशुपंक्षीको मृत्यु भएको छ । हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाइदिएको छ ।