१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं-तराई द्रुतमार्ग तीन वर्षभित्र निर्माण सम्पन्न हुन्छ : मन्त्री ज्वाला


104
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले २०८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सम्पन्न गर्ने बताउनुभएको छ ।

सोमबार प्रतिनिधि सभा अन्तर्गतको पुर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण कार्य २०८३ सालभित्र सम्पन्न गर्ने कार्ययोजना बनाएको बताउनुभएको हो ।

मन्त्री ज्वालाले प्रधानमन्त्रीसहित दु्रतमार्गको निरीक्षण भएको भन्दै अब लामो समय नलगाउने गरी महँगोमा भएपनि तीन वर्षभित्र सम्पन्न गर्ने सरकारको योजना रहेको बताउनुभयो । उहाँले समयमा नै काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माण सक्नेगरी नेपाली सेनालाई जिम्मा दिएपनि विभिन्न कारणले ढिला भएको बताउनुभयो ।

मन्त्री ज्वालाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको बताउनुभयो । उहाँले बाहिर चर्चा भएजस्तो सल्यान जिल्लामा धेरै बजेट नगएको बताउनु भयो । मन्त्री ज्वालाले आफ्नो निर्वाचन क्षेत्र र जिल्लामा बढी बजेट बनाउने मनाशायले योजना छनोट नगरेको बताउनु भयो। उहाँले मन्त्रालयले विभेदपूर्ण रुपमा बजेट कटौती गर्ने र कुनै ठाउँमा बजेट थुपार्ने काम नगरेको बताउनुभयो ।

मन्त्री ज्वालाले संघीय अन्तरगतका सडकहरुमा पाँच लाख मात्रै बजेट भौतिक मन्त्रालयले नभएर अर्थ मन्त्रालयले छनोट गरिदिएको बताउनुभयो । उहाँले बजेट सिलिङ बढाउनुपर्ने भौतिक मन्त्रालयको माग हुँदाहुँदै अर्थ मन्त्रालयले बजेट बनाउन ढोका बन्द गरेकाले परिवर्तन नभई प्रत्येक सडकमा पाँच लाख विनियोजन भएर आएको बताउनुभयो ।