
काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुविरुद्धको मुद्दा फिर्ता लिने सरकारको निर्णय विरुद्ध त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने सर्वोच्च अदालतमा रिट दर्ता गराउनुभएको छ ।
मुद्दा फिर्ता लिने सरकारको निर्णय कानुनसम्मत नभएको र अपराधीलाई संरक्षण गर्ने प्रकृतिको रहेको भन्दै उपप्राध्यापक चलाउने सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । चलाउनेले रिट निवेदनमा मुद्दा फिर्ता लिने सबै प्रक्रिया रोक्न माग गर्नुभएको छ । उपप्राध्यापक चलाउनेको रिटमा सुनुवाइका लागि बिहीबारका लागि पेशी तोकिएको छ ।
समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि २० असोज २०७७ मा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस परिसरमा नै सांघातिक आक्रमण भएको थियो । उक्त घटनामा चलाउनेले नेपाल विद्यार्थी संघका हरि आचार्य, योगेन्द्र रावललगायत विरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी मुद्दा दायर गर्नुभएको थियो ।
तर मुद्दाको पेशी यही असार ५ गते तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र गत आइतबार अदालतमा पुगेको थियो ।मुद्दा फिर्ता नलिन र आफूलाई न्याय दिन भन्दै चलाउने सर्वाेच्च पुगेका हुन् ।
प्रतिक्रिया दिनुहोस्