१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


‘एमालेले चाहेमा एक हप्ताभित्र सरकार ढल्छ’


1.092k
Shares

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताउनुभएको छ ।

बुधबार नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले एमालेले चाहेमा एक हप्ता भित्रमा सरकार ढाल्ने बताउनुभएको हो ।

सचेतक बर्तौलाले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताउनुभयो । यद्यपी सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताउनुभयो । उहाँले एमालेले प्रतिपक्ष दलहरुको मोर्चा नबनाउने पनि स्पष्ट पार्नुभयो ।

बर्तौलाले एमालेले आफ्नै सामथ्र्य र जनताको आदेशका आधारमा संसदमा भुमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताउनुभयो । समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पु¥याउने बताउनुभयो ।

बर्तौलाले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताउनुभयो । यसले देश र जनताको हीतमा काम नगर्ने टिप्पणी गर्नुभयो । उहाँले मोर्चामा आवद्ध दलहरु बीचको प्रेम ‘गैँडाको प्रेम चटाइ’ भएको टिप्पणी गर्नुभयो ।

सचेतक बर्तौलाले प्रदेश सभाले पारित गरेर नामाकरण गरिएको प्रदेशको नामलाई संघीय सरकारको दस्ताबेजमा अस्वीकार गर्नु गम्भिर विषय भएको बताउनुभयो । उहाँले पर्यटनमन्त्रीले दुषित नियतका साथ मन्त्रालयको बजेट वक्तव्यमा कोशी प्रदेशको नाम समावेश नगरेको बताउनुभयो ।

बर्तौलाले पर्यटनमन्त्रीले अघोषित रुपमा पहिचानवादी आन्दोलनकारीहरुलाई समर्थन छ भन्ने सन्देश दिनुभएको बताउनुभयो । उहाँले मन्त्री पदबाट राजीनामा दिएर पहिचानवादीहरुलाई समर्थन गर्न आग्रह गर्नुभयो ।