८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


नेप्से १४ अंकले ओरालो लाग्दा साढे ३ अर्बको कारोबार


403
Shares

काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन ऋणात्मक रह्यो ।

पछिल्ला दिन निरन्तरजसो बुलिस ट्रेण्डमा रहेको बजार सोमबार झिनो अंकले रातो रहेको थियो । मंगलबार र बुधबार दोहोरो अंकले ऋणात्मक रहेको हो ।

बुधबार उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २ हजार ५० कायम भएर थामियो । पछिल्ला दिन ४ अर्ब हाराहारीमा रहँदै आएको कारोबार यसदिन साढें ३ अर्बमा सीमित रह्यो । बुधबार होटल तथा पर्यटन, उत्पादनमूलक, जीवन बीमा र व्यापार समूह गरी ४ वटा उपसमूह हरियो रहँदा बाँकी ९ वटा उपसमूह रातो रहे । घटेको बजारमा पनि होटल तथा पर्यटन समूहमा झण्डै ५ प्रतिशतको वृद्धि आयो ।

बुधबार वित्त, जलविद्युत र लगानी समूहमा डेढ प्रतिशत बराबरको गिरावट आयो । लघुवित्त, विकास बैंक, र वाणिज्य बैंक समूहमा १ प्रतिशत बराबरको कमी आउँदा अरु सामान्य अंकले रातो रहे । बुधबार नेपाल स्टक एक्सचेन्जमा २ सय ७१ कम्पनीको साढे ८६ लाख कित्ता शेयर ३ अर्ब ४९ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

बुधबार १ सय ७९ कम्पनीको मूल्य घट्दा जम्मा ४५ को बढ्यो । यसदिन पनि सीटी होटका लगानीकर्ता १० प्रतिशत बराबर कमाउने क्रम जारी रह्यो ।