
काठमाडौं । बाढीपहिरोका कारण ताप्लेजुङका विद्यालयहरुमा पठनपाठन प्रभावित भएको छ ।
बाढी पहिरोले बाटो अवरुद्ध हुँदा जिल्लाका पूर्वी क्षेत्रका सिदिङ्वा र सिरिजङ्घा गाउँपालिकामा पढाइ प्रभावित भएको हो ।
बाढी पहिरोले सिरिजङ्गा गाउँपालिका–८ आम्फुदीनको कञ्चनजङ्घा माध्यमिक विद्यालय उच्च जोखिममा परेको छ । उक्त विद्यालयमा अध्ययनरत १ सय २२ विद्यार्थीको पढाइ प्रभावित भएको सिरिजङ्घा गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ ।
धेरै ठाउँमा पहिरो जाँदा बाटो अवरुद्ध भएको र बाढीले पुल बगाएकाले विद्यालय अनिश्चितकालका लागि बन्द गर्नुपरेको सिरिजङ्गा गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ४२ वटा विद्यालय बन्द गरिएको छ ।
यस्तै, सिदिङ्वा गाउँपालिकामा पनि साउन ६ गतेसम्मका लागि सबै विद्यालय बन्द गरिएको सिदिङ्वा गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्