२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


विपद् व्यवस्थापनका लागि देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारण


65
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले देशभरका ११ स्थानमा मानवीय सहायता स्थल र आपत्कालीन भण्डारणको स्थापना गरेको बताउनुभएको छ ।

बिहीबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विपद् व्यवस्थापनका लागि सरकारले २३ वटा इन्फेटेबल डुंगा र ५ वटा इन्जिनसहितको डुंगा तयारी अवस्थामा राखेको पनि बताउनुभयो ।

गृहमन्त्री श्रेष्ठले आवश्यक पर्ने विभिन्न प्रकारका खोज तथा उद्धार सामग्री, एम्बुलेन्स बस, सामान्य एम्बुलेन्स, अग्नि नियन्त्रण यन्त्रसहितका सामाग्री खरिद गरी जिल्ला सुरक्षा परिषद्मा पठाइसकेको पनि बताउनुभयो । उहाँले हवाई उद्धारका लागि कोशी र मधेस प्रदेशका लागि इटहरीमा एक, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि सुर्खेतमा एक, वागमती, गण्डकी र लुम्बिनी प्रदेशमा काठमाडौंमा एक, गरी तीन वटा हेलिकप्टर, एवं एमवाईवानसेभेन, स्काइ ट्रक एक, सानो हेलिकप्टर एक काठमाडौंमा तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले एउटा एमआई सेभेन्टिन र एक स्काइ ट्रक भरतपुरमा किनेर पठाउने तयारी गरिरहेको बताउनुभयो ।

मन्त्री श्रेष्ठले विपद् व्यवस्थापनका लागि सरकारले मनसुन अवधिको लागि कमान पोस्ट गठन गरेको पनि बताउनुभयो ।