
काठमाडौं । कोरोनाका कारण थला परेको पोखराको पर्यटन व्यवसाय पछिल्लो समय लयमा फर्किदैछ ।
पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले गरेका विभिन्न कार्यक्रम र लिएका नीतिका कारण पर्यटकीय नगरी पोखरामा पर्यटकको चहलपहल बढेको हो । तर, सरकारी तबरबाट पर्यटन प्रवर्द्धनका लागि ठोस कार्यक्रम नआएकोमा भने पर्यटन व्यवसायी असन्तुष्ट छन् ।
कोरोना महामारीले थला परेका पर्यटकीय नगरी पोखराको पर्यटन व्यवसाय लयमा फर्किएसँगै व्यवसायीहरु खुशी भएका छन् । पछिल्लो समय विभिन्न अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुको वृद्धि भएसँगै लय गुमाएको पोखराको पर्यटन व्यवसायले लय समातेको हो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान हुनसके पोखराको पर्यटन व्यवसाय झनै फस्टाउने व्यवसायीहरुको बुझाइ छ । व्यवसायीहरु सरकारले कोराना महामारीपछि पर्यटन प्रवर्द्धनमा विशेष चासो दिनुपर्ने भएपनि सरकारी तवरबाट चासो दिएको महशुस आफूले गर्न नसकेको बताउँछन् ।
उनीहरुले देशको आर्थिक अवस्थालाई सुदृढ पार्नपनि पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले कोरोनापछि अहिले पर्यटनले लय समातेको र व्यवसायीहरु खुशी भएको बताउनुभयो । व्यवसायीहरुले नै विभिन्न देशमा गएर पोखराको पर्यटन प्रवर्द्धनमा जोड दिएकाले पनि पर्यटकहरुको आगमन बढेको उहाँको तर्क छ ।
होटल एशोसिएशन अफ नेपाल, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकहरु बढ्दा व्यवसायीहरुमा आशा थपिएको बताउनुभयो । उहाँले पोखरामा पर्यटकहरु बढ्दा रोजगारी वृद्धि हुने र विदेश जानेहरुका लागि पोखरा प्रशिक्षणस्थल बन्न सक्ने तर्क गर्नुभयो । पोखरामा कोरोना महामारीपछि दक्ष जनशक्तिको अभाव भएको भन्दै उहाँले पोखरा विमानस्थल नियमित सञ्चालनमा आउनसके पर्यटकहरुको कमी नहुने विश्वास व्यक्त गर्नुभयो ।
गाउँ पर्यटन प्रवर्द्धन मञ्च गण्डकी प्रदेशका अध्यक्ष उदय सुवेदीले अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरुले पर्यटकहरुको आवागमन बढेपनि स्थायी हुन नसकेको गुनासो गर्नुभयो । उहाँले कोरोनापछि पर्यटकहरु बढेको भएपनि उल्लेख्य मात्रमा अझै बढ्न नसकेको तर्क गर्नुभयो ।
कोरोनाका कारण थला परेको अर्थतन्त्र चलायमान बनाउन प्रदेश र संघीय सरकारले चासो नदेखाएको व्यवसायीको गुनासो छ । सरकारले पर्यटन प्रवर्द्धनमा ध्यान दिनसके व्यवसायीहरुको मनोबल बढ्ने र पर्यटकहरुको पनि वृद्धि हुने व्यवसायीको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस्