२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


लोकतन्त्र, सामाजिक न्याय र समाजवादलाई आदर्श मान्ने जसपा विधानमा उल्लेख


65
Shares

काठमाडौं । कम्युनिस्ट दलसँग मिलेर समाजवादी मोर्चा बनाएको जनता समाजवादी पार्टीले लोकतन्त्र, सामाजिक न्याय र समाजवादलाई आदर्श मानेको छ ।

विधान अधिवेशनमा छलफलका लागि तयार पारेको विधानको मस्यौदामा धारा ९ मा जसपाले आफ्नो आदर्शको कुरा उल्लेख गरेको हो ।

हिमाल, पहाड, मधेस र बहुराष्ट्रियता बीच भावनात्मक एकीकरण गरी सबैको स्वामित्व, प्रतिनिधित्व र पहिचानको मान्यतामा आधारित राज्य संरचनाको स्थापना गर्ने उद्देश्य जसपाले लिएको छ । त्यस्तै राज्यको शासकीय स्वरूपमा जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक प्रतिनिधित्व भएको संसद स्थापित गर्ने जसपाले आफ्नो उद्देश्य स्पष्ट गर्दै बहुलबादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको विकास गर्ने जनाएको छ ।

भ्रष्टाचार, जबरजस्तीकरणी, मानव बेचबिखन तथा ओसारपसार, लागू औषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, अपहरणसम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा कैदको सजाय नपाएको व्यक्तिले मात्र जसपाको सदस्य पाउने व्यवस्था गरेको छ । प्रतिनिधिसभा–प्रदेशसभा वा स्थानीय तहमा पार्टीको आधिकारिक उम्मेदवार विरुद्धमा उम्मेदवार भएमा वा त्यस्ता विद्रोही उम्मेदवारको प्रस्तावक/ समर्थक भएमा वा निजको पक्षमा प्रचार प्रसार गरेमा, अन्तर्घात गरेको प्रमाणित भएमा त्यस्ता व्यक्तिको पार्टी सदस्यता रद्द हुने जसपाको विधानमा उल्लेख छ ।

राष्ट्रिय महाधिवेशन वा विशेष महाधिवेशन, केन्द्रीय समिति, केन्द्रीय कार्यकारिणी समिति, प्रदेश महाधिवेशन, प्रदेश समिति, प्रदेश कार्यकारिणी समिति, जिल्ला अधिवेशन, जिल्ला समिति, जिल्ला कार्यकारिणी समिति, स्थानीय तह समितिलगायतका सांगठनिक संरचना हुने विधानको मस्यौदामा उल्लेख छ । प्रत्येक पाँच वर्षमा महाधिवेशन गर्ने भनेको छ तर परिस्थिति अनुसार एक वर्ष अगाडि पछाडि गर्न सकिने बताइएको छ ।

राष्ट्रिय महाधिवेशनले एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, तीन जना उपाध्यक्ष, तीन जना महासचिव, तीन जना उपमहासचिव, तीन जना सचिव, एक जना कोषाध्यक्ष गरी १५१ सदस्यीय केन्द्रीय समिति रहने विधानको मस्यौदामा उल्लेख छ ।पार्टीको अध्यक्ष, वरिष्ठ नेता, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उप–महासचिव, सचिव, कोषाध्यक्ष र केन्द्रीय समितिबाट निर्वाचित १५ जना सदस्य समेत रहने गरी केन्द्रीय कार्यकारिणी समितिको समेत व्यवस्था गरेको छ ।