
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले देशको आर्थिक अवस्थालाई सुदृढ बनाउन सत्तापक्ष र प्रतिपक्ष एक हुनुपर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद पौडेलले आर्थिक अवस्था सुधारको विषयलाई सबैको साझाको विषय बनाएर अघि बढ्न जरुरी रहेको बताउनुभएको हो ।
उहाँले आर्थिक प्रणालीलाई लयमा ल्याउनको निम्ति सत्तापक्ष र प्रतिपक्ष बाँडिने अवस्था देशमा नरहेको जिकिर गर्नुभयो । उहाँले देशको आर्थिक अवस्था सुधार गर्नको निमित्त सामुहिक रुपमा अघि बढ्ने एउटा साझा संकल्पको आवश्यकता देशमा रहेको बताउनुभयो ।
सांसद पौडेलले बजेटमा भएका असन्तुष्टिलाई सम्बन्धित मन्त्रालयले सुन्न जरुरी रहेको बताउनु भयो । उहाँले बजेटमा यो वर्ष आर्थिक वृद्धिदर २.१६ मा सीमित रहने उल्लेख गरिएको भन्दै यो विषय सत्तापक्ष र प्रतिपक्षको मात्रै नभइ देशकै विषय रहेको बताउनु भयो । उहाँले राष्ट्रपति, उपराष्ट्रपतिक कार्यालयदेखि राज्यका साधारण खर्च नगर्दा पनि हुने प्रकृतिका ठाउँहरुको खर्चलाई कम गर्नेगरी अघि बढ्न जरुरी रहेको बताउनुभयो ।
सांसद पौडेलले आर्थिक वृद्धिदर कम हुँदै जानु राज्यको साझा चुनौतिको विषय रहेकोसमेत उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्