
काठमाडौं । युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले सरकारले चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै मन्त्री लिम्बूले सरकारले चितवनमा धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सुरु गरेको क्रिकेट रंगशालाको स्वामित्व ग्रहण गर्ने बताउनुभएको हो ।
मन्त्री लिम्बूले स्वामित्व ग्रहणका लागि आवश्यक प्रक्रिया अगाडी बढाइएको बताउनुभयो । उहाँले सरकारले स्वामित्व ग्रहण गरेपछि यसको निर्माणका लागि बजेट ब्यवस्थापन गर्ने पनि बताउनुभयो ।
मन्त्री लिम्बूले विद्यालयमा बालबालिकाको लागि खेलकुद प्रतियोगिता आयोजना गर्न सबै स्थानीय तहमा बजेट विनियोजन गरिएको बताउनुभयो । त्यस्तै, खेलकुद गतिविधि सञ्चालन गर्नका लागि १०० वटा खेलकुद संघहरुलाई २ लाख ५० हजारको दरले अनुदान दिनेगरी बजेट व्यवस्थापन गरिएको बताउनुभयो ।
मन्त्री लिम्बूले खेलकुद बीमाको निति तयार गर्न प्रक्रिया अगाडी बढेको पनि उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्